यूएई दुतावासमा ६१ औ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो/तीन दिन सम्म दिपावली

उमाकान्त पाण्डे गाउले,

६१ औ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास यूएई परिसरमा एक समारोह विच राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको दूतावासबाट जारी प्रेश विज्ञप्तीमा जनाईएको छ। प्रजातन्त्रको स्थापनार्थ आफ्नो आहुती दिने महान शहिदप्रती सम्झना गर्दै यो दिवस प्रवासमा रहने नेपालीका बिच पनि मनाईेएको हो। फागुन सातको दिन पारेर आयोजित सो कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई महामहिम राजदुत अर्जुन बहादुर थापाले जलपान कार्यक्रम आयोजना गरेका थिए।राष्ट्रिय गानवाट सुरु भएको उक्त कार्यक्रममा प्रजातन्त्र स्थापनाकालागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरुको संझनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । कार्यक्रममा सहभागी भएका सबै नेपालीहरुलाई स्वागत गर्दै राजदूत थापाले प्रजातन्त्र दिवसको सन्दर्भ र औचित्य माथि प्रकाश पार्दै ६१ वर्ष अगाडी शहीदहरुको वलिदानले जहानियां शासनको अन्त्य गरी नेपालमा एउटा नयां युगको थालनी भएको उल्लेख गर्दै युएईमा कार्यरत नेपालीहरुलाई प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिदै राष्ट्र निर्माणको महान कार्यमा यहां वसोवास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफनो स्थानवाट योगदान पुर्‍याउनका लागि यो दिनले प्रेरणा प्रदान गरोस भन्ने कामना समेत गरे।

 कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष् रामेश्वर शाह र युएईमा रहेका अन्य सम्पूर्ण नेपाली संघ संस्थाहरु समेतको तर्फवाट नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले प्रजातन्त्र दिवसका वारेमा आ-आफ्नो मन्तव्य राखेको दुतावास द्वारा जारी गरिएको प्रेस बिज्ञप्तीमा जनाइएको छ।
औपचारिक कार्यक्रम सम्पन्न भएपछि युएईमा नेपालीहरुले भोग्नु परेका समस्याहरु र तिनका समाधानका वारेमा सहभागीहरुका तर्फवाट राखि्एका विभिन्न जिज्ञासाहरुको राजदूतले जवाफ दिदै यस्ता समस्याहरुको समाधान गर्न विभिन्न संघ संस्था तथा समाजसेवीहरुले पुराएको योगदानका लागि  धन्यवाद दिदै नेपालीका समस्याहरु समाधानका लागि राजदूतावास निरन्तर रुपमा कृयशील रहदै आएको र आगामी दिनमा पनि राजदूतावासलाई यस्ता कार्यमा निरन्तर सहयोग पुर्‍याउन सवै नेपाली संघ संस्थाहरु र समाजसेवीहरुलाई आग्रह गरेका थिए।
राजदूतावासका कर्मचारी र परिवारका सदस्यहरु समेतको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा नेपाली समाज यूएई,गैरआवासिय नेपाली संघ,लगायत विभिन्न नेपाली संघ,संगठनका पदाधिकारीहरु,विभिन्न पेशा र व्यवसाय अपनाई बसोवास गर्दै आएका व्यक्ति,बुद्धिजिवी,समाजसेवी,पत्रकार को उपस्थिती रहेको थियो।

दुतावासका उपनियोग प्रमुख दीपक अधिकारीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
प्रेस बिज्ञप्तीमा जनाए अनुसार प्रजातन्त्र दिवसकै अवसरमा फागुन ६, ७ र ८ गते दीपावली गरी मनाउने क्रममा आज सांझ समेत राजदूतावासमा दीपावली गरिएको र भोली ८ गते सम्म दिपावली गरिने छ।

नेपालमा गणतन्त्र स्थापना पछी प्रजातन्त्र दिवस मनाउने प्रचलन केही ओझेलमा परेको महसुश गर्दै गर्दा खाडी देशमा राज्यको प्रतिनिधि मुलक सस्था दुतावासले प्रजातन्त्र दिवस मनाउनु हामी नेपालीकै गर्वको बिषय रहेको कार्यक्रममा उपस्थित समाजसेवी तथा बिश्लेशक हरुको भनाइ छ।